Saturday 21 October 2017

मोटरसाइकल दूर्घटनामा दुइको मृत्यु

५ कात्तिक, नेपालगन्ज । पूर्व पश्चिम राजमार्गको कोहलपुर बाँसगढी सडकखण्डमा मध्यरात भएको मोटरसाइकल दूर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कोहलपुर बाँसगढी सडकखण्डको बाँके बैजनाथ गाउपालिका-५ रंगिलाचोकमा आइतबार मध्यराति १२ बजे भे ४ प ६८६० नं. को मोटरसाईकल दूर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सहप्रवक्ता प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।
तीव्र गतिको मोटरसाइकले रंगिलाचोक नजिकै बाटोमा रहेका एक व्यक्तिलाई ठक्कर दिएर अनियन्त्रित भई दूर्घटना भएको प्रहरी निरीक्षक थापाले बताए ।
दूर्घटनामा परेर दैलेख नारायण नगरपालिका-२ की १९ वर्षीया मंगला सुनारको मृत्यु हुनुको साथै सो मोटरसाइकल चालक बाँके बैजनाथ-२ का २७ वर्षीय सुजन रावत घाइते भएका छन् ।
गम्भीर घाइते भएका सुनार र रावत दुबैलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको लागि पुर्‍याइए लगत्तै सुनारको उपचारको क्रममा मृत्यु भएको थियो ।
उनले आइतबार विहान ७ बजे सो उज्यालो भएपछि राति मोटरसाइकल दूर्घटना भएकै ठाँउमा बाटोको किनारमा रहेको खेतमा घाइते भई मृत अवस्थामा करिव ४० वर्षीय पुरुषको शव भेटिएको जानकारी दिए ।
उनले तीब्र गतिमा रहेको सो मोटरसाईकलले पैदल हिडी रहेको अवस्थामा मृतकलाई ठक्कर दिएर दूर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताए । मृतकको सनाखत हुन सकेको छैन ।
तिहारको दिन बाँके बर्दिया र दाङ्गमा १९ वटा साना ठूला सडक दूर्घटना भएका छन् ।
प्रहरी निरीक्षक थापाले दिएको जानकारी अनुसार बाँकेमा सबैभन्दा धेरै ११ वटा सडक दुर्घटना हुँदा २ को मृत्यु हुनुको साथै ११ जना घाइते भएका छन् ।
बर्दियामा ५ वटा र दाङ्गमा ३ वटा सडक दूर्घटनामा परेर ६ जना घाइते भएका छन् ।
घाइते सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ ।

No comments: