Saturday 14 October 2017

विदेश जान म्यानपावरको चक्कर काट्दै हुनुन्छ ? यी १० कुरामा नचुक्नुस्

विदेश जान म्यानपावरको चक्कर काट्दै हुनुन्छ ? यी १० कुरामा नचुक्नुस्   काठमाडौं । परिवारसँग दशैं मनाएपछि धेरै नेपाली युवा कामका लागि विदेशिन म्यानपावरमा चक्कर लगाउँछन् । वर्षदिनको चाड सकिनासाथ नेपाली युवाको वैदेशिक यात्रा ह्वात्तै बढ्छ ।

वैदेशिक रोजगर विभागका अनुसार गत वर्ष दशैंअघि असोजमा ४१ हजार पाँच सय ५२ युवा बाहिरिएका थिए । दशैंपछि कात्तिकमा त्यो संख्या ५७ हजार तीन सय २५ पुगेको थियो । तिहार मानेर मंसिरमा विदेश जानेको संख्या बढेर ६४ हजार नौ सय ७१ थियो ।
तर, जति विदेशिने युवाको संख्याको चाप म्यानपावरहरुमा बढ्छ, ठगिने क्रम पनि उत्तिकै वृद्धि हुने विभागका प्रवक्ता मोहन अधिकारी बताउँछन् । दशैं मान्न धेरै युवा विदेशका कम्पपनीबाट विदामा आउने भएकाले कामदारको माग पनि यही समयमा बढ्छ ।
विदेश जानुअघि केही आधारभूत कुरामा चुकियो भने तपाईंले भविष्यमा ठूलो दुःख पाउने सम्भावना हुन्छ । त्यसैले आफ्नो वैदेशिक रोजगारको यात्रालाई सुरक्षित र सुखद बनाउन कामदार आफैं सचेत हुनुको विकल्प छैन ।
दलालको फन्दामा परेर ठगिने सम्भावना कम गर्न पनि यस विषयमा सचेतना र जागरण आवश्यक छ ।
श्रम स्वीकृतिका लागि पेश गरिने कागजातहरु झुटो हुने समस्याले वैदेशिक रोजगारीमा जानेहरु राम्रो काम र तलव सुविधा नपाएर मर्कामा परिरहेका छन् ।
सोहीकारण विदेशी भूमिमा पीडा खेप्नुपर्ने, स्वदेश फर्किन कठिन हुने, कतिपय अवस्थामा जेल-सजाय र ज्यानसमेत गुमाउनुपर्ने अवस्था आउने प्रवक्ता अधिकारी बताउँछन् । त्यसैले रोजगारीमा जाने व्यक्तिले आफ्नो विदेश यात्राबारे विभिन्न कुरामा ध्यान दिनैपर्छ ।
सीप सिक्नुभयो ?
विदेश जाने योजना हतारमा नबनाउँदा राम्रो हुन्छ । ‘हतारमा लतार’ भन्ने नेपाली उखानलाई मनन गरेर सुझबुझपूर्ण तवरले काम गर्नुभयो भने तपाईंलाई विदेशमा हैरानी भोग्नुपर्दैन ।
वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीले विदेशमा दुःख पाएको सुनिन्छ । त्यसमा एउटा महत्वपूर्ण कारण छ, अदक्षता । तपाईंसँग विदेशमा गएर काम गर्न हातमा कुन सीप छ ? छैन भने सोच्नुस् ।
हातमा सीप नभएकाले विदेशमा के काम गर्लान् ? पक्का पनि त्यहाँ निकृष्ट श्रममा अल्भिmनुको विकल्प हुँदैन ।
म्यानपावरहरुले सीप नभए पनि कम्पनीहरुमा ‘यो काम, ऊ काम हुन्छ’ भन्लान् । तर, तपाईंसँग हातमा कुनै सीप छैन भने गाह्रो प्रकारको काम गर्नैपर्छ । आफूले जानेको काम गर्न विदेश जानुभयो भने आम्दानी पनि सोचेजस्तै हुन्छ ।
यो भाग्यमा हैन, सीपमा विश्वास गर्ने समय हो । त्यसैले आफैं सीप सिकेर भाग्य र भविष्य कोर्नुस् । सके देशमै काम गर्नुस्, वातावरण नमिले विदेशको लागि प्रयास गर्नुपर्छ ।

No comments: